२०८३ आश्विन २८ गते, बुधबार ०४:४६
  • लुम्बिनी, पोखरा र चितवनको संयुक्त भ्रमण प्याकेज र अन्तर्राष्ट्रिय प्रचार–प्रसार आवश्यक

    सिल्भर ट्रयांगल पर्यटन प्रवर्द्वन लागि अन्तरक्रिया भरतपुरमा सम्पन्न

    चितवन-लुम्बिनी, पोखरा र चितवनको संयुक्त भ्रमण प्याकेज बनाउनुपर्ने र त्यसको अन्तर्राष्ट्रिय प्रचारप्रसार गर्नुपर्नेमा पर्यटनसँग सम्बन्धित सरोकारवालाहरुले बताएका छन्। सिल्भर ट्रयांगल पर्यटन प्रवद्र्धनका लागि अन्तरक्रिया कार्यक्रम सोमबार र मंगलबार चितवन भरतपुरमा आयोजना भएको थियो। कार्यक्रममा भरतपुर र पोखरा महानगरपालिका तथा लुम्बिनी सांस्कृतिक नगरपाकिलाका प्रमुखका साथै तीनै शहरको उद्योगी तथा पर्यटन व्यवसायी र सरोकारवालाहरुको सहभागीता थियो।

    अन्तरक्रियामा तीन गन्तव्यका नेचर, कल्चर र एडभेन्चरको संयुक्त भ्रमण प्याकेज बनाउनुपर्ने धारणा व्यक्त भएको थियो। वाइल्ड लाइफको रुपमा चितवनलाई नेचर, सांस्कृतीक गन्तव्यको रुपमा बुद्धजन्मस्थल लुम्बिनीलाई कल्चर र सहासिक गन्तव्यको रुपमा पोखरालाई एड्भेन्चर पर्यटनको अवधारणा अघि बढाउनुपर्ने सहभागीहरुको भनाइ थियो। यी गन्तव्यहरुको प्रवद्र्धनको लागि राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा संयुक्त पर्यटन महोत्सव तथा ट्राभल मार्ट आयोजना गर्नुपर्ने, तीन शहरलाई जोड्ने गरि पर्यटनमैत्री बस सञ्चालन गर्नुपर्ने, फिजिकल तथा डिजिटल रुपमा गन्तव्यहरुको प्रचार प्रसार गर्नुपर्ने लगायतका कुराहरु अन्तरक्रियामा उठेका थिए। त्यसैगरि पोखरा र भैरहवाका अन्तर्राष्ट्रिय विमानस्थलको नियमित उडानको लागि एक अर्को शहरले सहयोग र सहकार्य गर्ने कार्यक्रममा प्रतिबद्धता व्यक्त गरिएको थियो।

    अन्तरक्रियामा पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले सिल्भर ट्रयांगलको अवधारणा पर्यटनसँग मात्र नभई समग्र अर्थतन्त्रसँग जोडिएको विषय भएको बताए। ‘हामीले सहकार्यको एउटा नयाँ सेक्टर बनाउन खोजेको हो। यो पर्यटन व्यवसायीहरुसँग सहकार्य मात्र होइन। ३ शहरको उद्योग बाणिज्य, विज्ञ, राजनीतिक दल, पत्रकारसँग पनि सहकार्य हुनुपर्छ।’ उनले भने ‘तिन शहर जोड्ने गरि हामीले पर्यटनमत्री यातायातको लागि पनि पहल गर्दैछौं।’ आचार्यले पोखरामा फ्लाई दुबईको दैनिक अन्तर्राष्ट्रिय उडान भएकाले यसलाई सफल बनाउन आग्रह समेत गरे।

    भरतपुर महानगरपालिकाका कार्यवहाक प्रमुख चित्रसेन अधिकारीले सिल्भर ट्रयांगल कार्यक्रम साझा र संयुक्त कार्यक्रम भएको बताए। ‘हामी भरतपुरलाई नेचरको, पोखरालाई एड्भेन्टरको र लुम्बिनीलाई कल्चरको विश्लेषण गरिरहेका छौं।’ उनले भने ‘अब हामीले निरन्तर अघि बढाउनुपर्ने छ।’

    लुम्बिनी सांस्कृतिक नगरपालिकाकी कार्यवाहक नगर प्रमुख कल्पना हरिजनले सिल्भर ट्रयांगल र यसका गन्तव्यहरुलाई अन्तर्राष्ट्रिय स्तरमा लैजानुपर्ने बताइन्। ‘सिल्भर ट्रयांगल मार्फत हामीले तीनवटै ठाउँका गन्तव्यलाई जोडेर संयुक्त ब्रोसर र प्याकेज बनाइ अन्तर्राष्ट्रिय रुपमा चिनाउने सुनौलो अवसर पनि छ।’ उनले भनिन् ‘हामी नगर प्रमुख र अन्य निजी क्षेत्र मिलेर आफ्नो पालिका मात्र नभई जोडिएका अन्य पालिकाको पनि प्रवद्र्धन गर्नुपर्छ।’ लुम्बिनीमा हुने आगामी सिल्भर ट्रयांगलको कार्यक्रम भव्य र प्रभावकारी बनाउने हरिजनको जानकारी दिइन्।

    कार्यक्रममा जिल्ला समन्वय समिति चितवनका प्रमुख नारायण अधिकारीले सरकार र निजी क्षेत्र मिलेर सिल्भर ट्रयांगललाई प्रभावकारी बनाउनुपर्ने बताए। नेपाल पर्यटन बोर्ड कार्यकारिणी सदस्य सन्तोष पोखरेलले बोर्डले डिजिटल मार्केर्टिङमा जोड दिएर नीति कार्यक्रम र बजेट बनाएको जानकारी दिए।

    गैर आवसीय नेपाली संघका प्रवक्ता सोम सापकोटाले अब पोष्टर र पर्चाबाट नभई डिजिटल प्रमोसनलाई ध्यान दिनुपर्ने बताए। उनले नेपाल बाहिरका केही देशमा पर्यटन बोर्डको कार्यालय राख्न आवश्यक भएको र दुताबासहरुमा पर्यटन डेस्क स्थापना गर्नुपर्ने सुझाब दिए। पोखरा पर्यटन परिषदका अध्यक्ष हरि भुजेलले धेरै पर्यटक भित्राउन भन्दा पनि आएका पर्यटकलाई धेरै ठाउँ पुर्याउनुपर्ने धारणा राखे।

    भरतपुर महानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत, विरेन्द्रदेव भारती, पोखरा महानगरपालिका प्रमुख प्रशासकिय अधिकृत राजन पौडेल, लुम्बिनी सांस्कृतिक नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत मोहन अर्यालले सिल्भर ट्रयांगललाई प्रभावकारी बनाउन आफूहरुले सहजिकरण गर्ने बताएका थिए।

    अन्तरक्रिया कार्यक्रममा पोखरा उद्योग बाणिज्य संघका अध्यक्ष सोभा गौतम, चितवन उद्योग बाणिज्य संघका अध्यक्ष चिरन्जीवि सुवेदी, सिद्धार्थ उद्योग बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष दिनेश कान्दु, लेखनाथ उद्योग बाणिज्य संघकी अध्यक्ष जानुका पराजुली, चेम्बर अफ कमर्श लुम्बिनीका अध्यक्ष अनिल गुरुङ, होटल संघ पोखराका अध्यक्ष लक्ष्मण सुवेदी, नाट्टा पोखराकी अध्यक्ष संगिता पौडेल, पत्रकार महासंघ गण्डकीकी उपाध्यक्ष जमुना शर्मा, पत्रकार महासंघ कास्कीका अध्यक्ष माधब बराल लगायतले बोल्दै सिल्भर ट्रयांगलले पर्यटन क्षेत्रमा नयाँ आयाम थप्ने धारणा राखेका थिए। कार्यक्रममा सहभागीहरुले भरतपुरको दियालो बंगला र गैडाकोटको मौलाकालिकाको अवलोकन समेत गरेका थिए।