२०८३ कार्तिक २१ गते, शुक्रबार २०:२१
  • हिमाली पर्यटनको सम्भावना र मर्दी हिमाल पदयात्रा: प्रकृति, अर्थतन्त्र र समृद्धिको नयाँ आधार

    सागर गिरि

    नेपालमा दशैँ -तिहार जस्ता पर्वलाई वर्षकै महत्वपूर्ण चाडका रूपमा लिइन्छ। लामो बिदा, पारिवारिक जमघट र चाडपर्वको उल्लाससँगै मानिसहरू आफ्नो दैनिकीबाट केही समय विश्राम लिन चाहन्छन्। तर पछिल्ला वर्षहरूमा दशैँ तिहारको बिदा मनाउने नेपाली युवा पुस्ताको शैलीमा विस्तारै परिवर्तन देखिन थालेको छ। परम्परागत रूपमा घरपरिवार र आफन्तसँग समय बिताउने चलनसँगै अहिले धेरै युवाहरू पदयात्रा, प्राकृतिक भ्रमण र साहसिक पर्यटनतर्फ आकर्षित हुन थालेका छन्।

    विशेषगरी मर्दी हिमाल, अन्नपूर्ण आधार शिविर, घोरेपानी-पुनहिल, लाङटाङ, गोसाइँकुण्ड, खप्तड र पोखरा आसपासका क्षेत्र, कुश्मा, मुस्ताङ मनाङ जस्ता गन्तव्यहरू युवा पदयात्रीका आकर्षण बन्दै गएका छन्। यहि ट्रेन्डलाइ समाएर म पनि यो पटक दशैँमा टिका नभएकाले व्यस्त दैनिकीबाट केहि दिनका लागि विश्राम लिएर मर्दी हिमाल सोलो ट्रेक गएको थिएँ। कास्कीको काँडेबाट सुरु भएको मेरो यात्रा पहिलो दिनमै करिब ७-८ घन्टाको पैदलयात्रा पश्चात समुद्री सतहबाट २६०० मिटर उचाइको रेष्ट क्याम्पमा पुगेर रात बिताएको थिएँ। दोस्रो दिन करिब ५ घन्टाको हिँडाइ पछि ३ हजार ५५० मिटर उचाइको High Camp मा पुगेर बिश्राम लिएको थिएँ। High Camp भन्दा माथि कुनै होटल वा वस्ती नभएकाले मर्दी आधार शिविरको मुख्य गेट वे नै High Camp मानिन्छ।

    १ दिनको acclimatization पछि अर्को दिन बिहानै ३-४ बजे नै हिँडेर करिब २.५ घन्टा लगाएर सुर्योदय भेटाउन ४२ सय मिटर उचाइकोमर्दी भ्यु प्वाइन्ट पुगेको थिएँ। त्यहाँबाट पनि लगभग २ घन्टाको हिँडाइ पछि ४ हजार ५ सय मिटर उचाइको मर्दी हिमाल वेसक्याम्प पुग्ने गरिन्छ । तर म चाहिँ भ्यु प्वाइन्टसम्म मात्र पुगेको थिएँ। सोही दिन नै यो ट्रेकलाइ सकाउने गरि करिब ६ घन्टाको पदयात्रा गरेर यो म कास्कीको सिदिङ् गाउँ झरेको थिएँ जहाँबाट पोखराका लागि जिप उपलब्ध हुने रहेछ। करिब १.५ घन्टाको सडक यात्रा मार्फत म पोखरा फर्किएको थिएँ।

    नेपाल प्राकृतिक सौन्दर्य, हिमशृङ्खला, जैविक विविधता, सांस्कृतिक सम्पदा र साहसिक पर्यटनका दृष्टिले विश्वकै आकर्षक गन्तव्यहरूमध्ये एक हो। विश्वका अग्ला हिमालहरूको देश नेपालमा पर्यटन केवल मनोरञ्जन र घुमफिरको माध्यम मात्र होइन, राष्ट्रिय अर्थतन्त्र, रोजगारी, उद्यमशीलता र अन्तर्राष्ट्रिय पहिचानसँग जोडिएको महत्वपूर्ण उद्योग हो। नेपालको हिमाली पर्यटनको चर्चा गर्दा सगरमाथा, अन्नपूर्ण, मनास्लु र लाङटाङजस्ता गन्तव्यहरू विशेष रूपमा स्मरण गरिन्छन्। पछिल्लो समय पर्यटक तथा पदयात्राप्रेमीहरूबीच लोकप्रिय बन्दै गएको अर्को सुन्दर गन्तव्य हो- मर्दी हिमाल पदयात्रा (Mardi Himal Trek)।

    पोखरा नजिकै रहेको मर्दी हिमाल पदयात्रा छोटो अवधिमा हिमाली प्राकृतिक सौन्दर्य, साहसिक अनुभव र स्थानीय संस्कृतिको आनन्द लिन चाहने आन्तरिक तथा अन्तर्राष्ट्रिय पर्यटकका लागि उत्कृष्ट गन्तव्य बनेको छ। अन्नपूर्ण संरक्षण क्षेत्रभित्र पर्ने मर्दी हिमाल पदयात्रा पोखराबाट सुरु हुने लोकप्रिय पदयात्रा मार्गमध्ये एक हो। यस यात्रामा वनजङ्गल, गुराँसका घना वन, परम्परागत बस्ती, शान्त वातावरण र हिमालका मनमोहक दृश्यहरू अवलोकन गर्न सकिन्छ।

    विशेषगरी माछापुच्छ्रे हिमालको नजिकबाट देखिने भव्य दृश्य, अन्नपूर्ण हिमशृङ्खलाको सौन्दर्य र हिमाली भूगोलले यस पदयात्रालाई अविस्मरणीय बनाउँछ। मर्दी हिमालको विशेषता भनेकै तुलनात्मक रूपमा छोटो समयमा हिमाली पदयात्राको वास्तविक अनुभव लिन सकिनु हो। त्यसैले सीमित समय भएका पर्यटक, युवा पदयात्री र प्रकृतिप्रेमीहरूका लागि यो आकर्षक विकल्प बनेको छ।

    नेपालको पर्यटन विकासको चर्चा गर्दा पोखरालाई छुटाउन सकिँदैन। हिमाल, ताल, पदयात्रा, साहसिक खेल, प्राकृतिक सौन्दर्य र आतिथ्य संस्कृतिले पोखरालाई नेपालको प्रमुख पर्यटकीय राजधानी बनाएको छ। त्यस माथि फ्लाइ दुबईको हालचालै सुचारु दैनिक दुबइ- पोखरा -दुबइ सिधा उडानले केवल हवाई सेवाको विषयका रूपमा मात्र नभई समग्र गण्डकी प्रदेश एबं सिङ्गो नेपालकै पर्यटन बजार विस्तार, क्षेत्रीय आर्थिक विकास र अन्तर्राष्ट्रिय सम्पर्क सुदृढीकरणको सम्भावनासँग जोडेको छ।

    पर्यटन विकास भनेको केवल पर्यटकको संख्या बढाउनु होइन

    हामीले पर्यटन विकासलाई पर्यटकको आगमन र होटल होम्सटेमा हुने कारोबारको संख्यामा मात्र सीमित गर्नु हुँदैन। वास्तविक पर्यटन विकास त्यतिबेला सम्भव हुन्छ, जब पर्यटकले गर्ने खर्च स्थानीय समुदायको जीवनस्तर सुधारमा प्रत्यक्ष योगदान पुर्‍याउँछ। मर्दी हिमाल पदयात्रामा संलग्न स्थानीय गाइड, भरिया, होटल तथा होमस्टे सञ्चालक, यातायात व्यवसायी, किसान र साना उद्यमीहरू यस पर्यटन अर्थतन्त्रका महत्वपूर्ण हिस्सा हुन्।

    पर्यटकको एउटा भ्रमणले स्थानीय उत्पादनको बिक्री बढाउन सक्छ, युवालाई रोजगारी दिन सक्छ र गाउँमै उद्यम सञ्चालन गर्ने वातावरण सिर्जना गर्न सक्छ। यसले वैदेशिक रोजगारीमा जानुपर्ने बाध्यतालाई समेत केही हदसम्म कम गर्न सहयोग पुर्‍याउन सक्छ। त्यसैले पर्यटनलाई स्थानीय समुदायको आर्थिक सशक्तीकरणसँग जोड्नु आजको आवश्यकता हो। आजको विश्व पर्यटन बजारमा कुनै पनि गन्तव्यको सफलता त्यसको प्राकृतिक सुन्दरतामा मात्र निर्भर हुँदैन। प्रभावकारी प्रचारप्रसार, गुणस्तरीय सेवा, डिजिटल मार्केटिङ र पर्यटकको सन्तुष्टि र सामाजिक सञ्जालमा पोजेटिभ रिभ्यु पनि उत्तिकै महत्वपूर्ण हुन्छन्।

    नेपालसँग विश्वस्तरमा प्रतिस्पर्धा गर्न सक्ने प्राकृतिक तथा सांस्कृतिक सम्पदा छन्। तर प्राकृतिक सम्पदा हुनु मात्र पर्याप्त हुँदैन। त्यसलाई अन्तर्राष्ट्रिय बजारमा स्थापित गर्न रणनीतिक योजना, गुणस्तरीय सेवा, प्रभावकारी प्रचारप्रसार र पूर्वाधार विकास आवश्यक हुन्छ।
    मर्दी हिमालजस्ता गन्तव्यलाई विश्व पर्यटन बजारमा स्थापित गर्न निजी क्षेत्र, सरकारी निकाय, स्थानीय तह र पर्यटन व्यवसायीबीच प्रभावकारी सहकार्य हुनुपर्छ।

    हामीले अन्तर्राष्ट्रिय ट्राभल एजेन्सी, टुर अपरेटर र डिजिटल ट्राभल प्लेटफर्मसँग साझेदारी विस्तार गर्नुपर्छ। सामाजिक सञ्जाल, डिजिटल मार्केटिङ, अन्तर्राष्ट्रिय पर्यटन प्रदर्शनी र गुणस्तरीय पर्यटन सामग्रीमार्फत नेपालको वास्तविक सौन्दर्य विश्वसामु प्रस्तुत गर्नुपर्छ।

    प्रकृति संरक्षणबिना पर्यटनको भविष्य सम्भव छैन

    पर्यटनले आर्थिक अवसर सिर्जना गर्छ, तर अव्यवस्थित पर्यटनले प्राकृतिक सम्पदामाथि दबाब पनि बढाउन सक्छ। बढ्दो प्लास्टिकजन्य फोहोर, वनजङ्गलमाथिको असर, अनियन्त्रित संरचना निर्माण र पदमार्गको अव्यवस्थापन मर्दी हिमालजस्ता संवेदनशील क्षेत्रमा गम्भीर चुनौती बन्न सक्छन्। हामीले एउटा महत्वपूर्ण सत्य स्वीकार गर्नुपर्छ—हिमाल नष्ट गरेर पर्यटनको विकास गर्न सकिँदैन।
    त्यसैले विकास र संरक्षणबीच सन्तुलन कायम गर्न आवश्यक छ। फोहोर व्यवस्थापन, वातावरणमैत्री पूर्वाधार, स्थानीय समुदायको सहभागिता, जैविक विविधताको संरक्षण र जिम्मेवार पदयात्रा संस्कृतिलाई पर्यटन विकासको अभिन्न हिस्सा बनाउनुपर्छ। हिमाललाई आजको पुस्ताले उपयोग गर्ने मात्र होइन, भोलिको पुस्ताका लागि सुरक्षित राख्ने जिम्मेवारी पनि हाम्रो हो।

    युवा पुस्ता र पर्यटन उद्यमशीलताको नयाँ युग

    नेपालको पर्यटन उद्योगलाई नयाँ उचाइमा पुर्‍याउन युवा पुस्ताको भूमिका निर्णायक हुन सक्छ। प्रविधि, डिजिटल मार्केटिङ, अन्तर्राष्ट्रिय बजारको ज्ञान र उद्यमशील सोचलाई पर्यटनसँग जोड्न सके नेपालले नयाँ सम्भावनाका ढोका खोल्न सक्छ। ट्राभल एजेन्सी, ट्रेकिङ कम्पनी, स्थानीय पर्यटन सेवा, होटल व्यवस्थापन, साहसिक पर्यटन, यातायात तथा डिजिटल बुकिङ प्रणालीमा युवाहरूका लागि अवसर प्रशस्त छन्।

    हामीले केवल पर्यटक ल्याउने व्यवसायी बन्ने होइन, नेपाललाई विश्वसामु चिनाउने पर्यटन उद्यमी बन्ने सोच विकास गर्नुपर्छ। मर्दी हिमाललाई पोखरा, अन्नपूर्ण क्षेत्र र नेपालका अन्य पर्यटकीय गन्तव्यसँग एकीकृत पर्यटन प्याकेजमा जोड्न सके पर्यटकको बसाइ अवधि र स्थानीय आर्थिक लाभ दुवै बढाउन सकिन्छ। नेपालले प्रकृतिबाट पाएको सबैभन्दा ठूलो उपहार हिमाल हो। यसको वास्तविक मूल्य केवल यसको उचाइ वा सुन्दरतामा सीमित छैन; यसले सिर्जना गर्न सक्ने आर्थिक अवसर, रोजगारी, अन्तर्राष्ट्रिय पहिचान र सामाजिक समृद्धिमा पनि निहित छ।

    मर्दी हिमाल पदयात्राले हामीलाई एउटा महत्वपूर्ण सन्देश दिएको छ-नेपालका पर्यटकीय सम्भावना केवल विश्वप्रसिद्ध गन्तव्यमा सीमित छैनन्। उचित योजना, संरक्षण, प्रचारप्रसार र स्थानीय सहभागिता सुनिश्चित गर्न सके हाम्रा धेरै ग्रामीण तथा हिमाली क्षेत्र अन्तर्राष्ट्रिय पर्यटनका आकर्षक केन्द्र बन्न सक्छन्।

    अबको आवश्यकता पर्यटकको संख्या बढाउने प्रतिस्पर्धा मात्र होइन, गुणस्तरीय, दिगो र समुदायमुखी पर्यटन उद्योग निर्माण गर्नु हो।
    हिमाल केवल हेर्ने दृश्य होइन, नेपालको भविष्य निर्माण गर्ने सम्भावना पनि हो। त्यसैले हिमाल बचाउनु हाम्रो दायित्व हो, पर्यटन बढाउनु हाम्रो अवसर हो र स्थानीय समुदायलाई समृद्ध बनाउनु हाम्रो साझा लक्ष्य हुनुपर्छ।

    प्रकृति जोगाऔँ, पर्यटन प्रवर्द्धन गरौँ र हिमाली नेपालको पहिचान विश्वभर फैलाऔँ।

    (लेखक ट्रिप गाइड नेपाल प्रालिका सञ्चालक हुन्)