
बुटवल नेपालकै प्रमुख शहर बुटवल चुरेको काखमा छ । उचाइको गन्तव्य अर्थात हिल स्टेसनको लागि टाढा जानुपर्दैन । सितलता महसुस गर्न, तराइका फाँटका मनोरम दृष्यहरु नियाल्नका लागि बुटवल आसपासमै उचाइका गन्तव्यहरु छन् । नुवाकोट र बसन्तपुर बुटवल नजिकका हिल स्टेसन हुन् । दुबै ठाउँमा केबलकार निर्माण भएको छ ।
बुटवलको मुख्य बजारबाट तिनाउ पारी चुरेको उचाइमा नुवाकोटगढी छ। नेपाल २११ वर्ष अघि बुटवलको जितगढीमा नेपाल अंग्रेज युद्ध भएको थियो । त्यसबेला नुवाकोट गढीलाई जितगढीको सहायक गढीको रुपमा मानिन्थ्यो। जहाँ युद्धको रणनीतिहरु बनाइन्थ्यो। नुवाकोटमा अहिले ऐतिहासिक नुवाकोट गढीको अवशेष देख्न पाइन्छ । नजिकै भैरब मन्दिर रहेको छ । त्यस्तै गौतम बुद्धका पिता शुद्धोधनका गुरु ऋषिकाल देवलको आश्रम रहेको स्थान, तोपाहान क्षेत्र, खरखजाना घर लगायतका ठाउँ यहाँ छ। नुवाकोटमा भ्यू प्वाईन्ट पनि निर्माण गरिएको छ जहाँबाट बुटवल शहरको मनमोहक दृश्यसँगै तराइका मनोरम फाँटको अवलोकन गर्न सकिन्छ ।
सिद्धार्थ केबलकार मार्फत बुटवलबाट नुवाकोट पुग्न सकिन्छ । बुटवल मावीको माथि देउराली डाँडामा सिद्धार्थ केबलकारको बटम स्टेसन रहेको छ । केबलकारको बटम स्टेसन आकर्षक बनाइएको छ । जहाँ ६ वटा कमलको फूल सहितको आकर्षक संरचना तयार गरिएको छ । केबलकारको यात्रामा बुटवल र आसपासका मनोरम दृष्यको अवलोकन गर्न सकिन्छ । टप स्टेसन नुवाकोटमा एउटा केबलकारको प्रतिक र लिटल बुद्धको मुर्ति सहितको संरचना बनिरहको छ । केबलबार बाहेक बुटवल बेलबासबाट सडक मार्ग हुँदै १० किलोमिटरको दुरीमा नुवाकोट गढी पुग्न सकिन्छ । हाइकिङमा रुचि राख्नेहरु पैदल नुवाकोट जाने आउने गरिरहेका छन् ।
बसन्तपुर बुटवल नजिकको अर्को हिलस्टेसन हो । बसन्तपुर जानको लागि लुम्बिनी केबलकार सञ्चालित छ । बुटवल ३ बमघाटमा केबलकारको बटम स्टेसन छ । टप स्टेसन बसन्तपुरमा कामाख्या मन्दिर रहेको छ । त्यस्तै अरु आकर्षक संरचना पनि बनाइएको छ । बसन्तपुरबाट पनि बुटवल र आसपासका मनोरम दृष्य नियाल्न सकिन्छ । नजिकै केबलकार सहितका दुई वटा हिल स्टेसन भएकाले बुटवलले पर्यटनबाट फाइदा लिन सक्छ । हिल स्टेसनले बुटवलमा पर्यटकको बसाइ एक दिन लम्बाउन सघाउ पुर्याउँछ ।
बुटवलबाट केही दुरीमा पाल्पाको तिनाउँ गाउँपालिकामा जन्तिलुङ, मरामकोट लगायतका हिल स्टेसनहरु रहेका छन् । यी ठाउँमा सडक मार्ग हुँदै एक डेढ घण्टामा पुग्न सकिन्छ । बुटवलले यी नजिकका हिल स्टेसनहरु देखाएर पर्यटक आकर्षित गर्न सक्छ । विशेष गरि लुम्बिनी आएका पर्यटकहरुलाई बुटवल ल्याइ केबलकार र स्थल मार्गबाट यात्रा गराइ हिलस्टेसनसम्म पुर्याउन सकिन्छ । यहाँका पर्यटन व्यवसायीहरुले हिल स्टेसनहरुालाई समेटेर टुर प्याकेजहरु बनाउनुपर्छ । त्यसको लागि बुटवल उपमहानगरपालिकाले केही सहयोग गर्नुपर्छ ।
हिल स्टेसनहरुको प्रवद्र्धनको लागि बुटवल उपमहानगरपालिकाले पनि विभिन्न योजनाहरु बनाएको छ । आगामी आर्थिक वर्षको बजेटमा बुटवल माविदेखि नुवाकोटसम्मको पैदल मार्गमा पुरानो परम्परा झल्कीने सामाग्रीको निर्माण गरि साइडमा साइकिल लेन समेत व्यवस्था गरि बहुउदेश्यि पर्यटकीय क्षेत्रको रुपमा विकास गरिने बताइएको छ । त्यसको लागी ५० लाख रुपैया बजेट विनियोजन गरेको बुटवलकी उपप्रमुख सावित्रा देखि अर्यालले जानकारी दिइन् ।
आएका पर्यटकहरुलाई बुटवलमा बसालेर यहाँका पर्यटन व्यवसायीहरुले यी हिलस्टेनहरुमा घुमाउन सक्छन् । जेठ महिनामा गर्मी छल्न भारतीय पर्यटकहरु आएका थिए । उनीहरु पाल्पा, पोखरा, मुक्तीनाथसम्म पुग्ने गरेका छन् । बेलहिया नाकाबाट आएका पर्यटकहरुलाई एक दिन बुटवलमा भुलाउने योजना बनाउनुपर्छ । त्यसको लागि यी हिल स्टेसनहरु उपयुक्त गन्तव्य हुन सक्छन् ।

