
लुम्बिनी-बुद्ध जन्मस्थल लुम्बिनीमा श्रीलांकन पर्यटकहरुको चहलपहल बढेको छ। गत अगष्ट महिनामा ७ हजार ७०८ श्रीलंकाबाट आएका तिर्थयात्री तथा पर्यटकले बुद्ध जन्मस्थल लुम्बिनीको भ्रमण गरेका छन्। बौद्ध भिक्षुहरु बर्षबास बस्ने बेला भएकाले साउन महिनामा लुम्बिनीमा श्रीलंकन पर्यटकहरुको चहलपहल बढ्ने गर्दछ।
२०२५ को अगष्टमा ५ हजार १५९ जना पर्यटक श्रीलंकाबाट आएका थिए। कोभिड अघि अगष्टमा बुद्ध जन्मस्थलमा आउने श्रीलंकन पर्यटकको संख्या १२ हजार ५१६ रहेको थियो । गत अगष्टमा श्रीलंकापछि चिनबाट ५७७ पर्यटक लुम्बिनी आएका छन् । अन्य देशका पर्यटकको आगमन नगन्य रहेको छ । गत अगष्ट महिना कुल ९ हजार ७८८ जना तेस्रो मुलुकका पर्यटकले लुम्बिनीको भ्रमण गरेका छन् । अघिल्लो वर्ष सोही अवधिको तुलनामा विदेशी पर्यटक झण्डै ३ हजारले बढेको कोषको तथ्यांकले देखाएको छ।
सन् २०२५ को अगष्टमा मा भारत बाहेकका देशबाट लुम्बिनी आउनेको संख्या ६ हजार ८९६ रहेको थियो । कोभिड अघि सन २०१९ को अगष्टमा १४ हजार ७३८ विदेशी पर्यटक लुम्बिनी आएका थिए।
यस्तै अगष्ट महिनामा भारतीय पर्यटक आगमनको संख्या १० हजार ७५९ रहेको छ। यो अघिल्लो वर्ष सोही अवधिको तुलनामा ११ सय जतिले कम हो। २०२५ को अगष्टमा ११ हजार ८७३ भारतीय लुम्बिनी आएका थिए। कोभिड अघि २०१९ को अगष्ट महिनामा ८ हजार ४५७ जना भारतबाट लुम्बिनी आएका थिए । कोभिड पछि लुम्बिनीमा नेपाली र विदेशी पर्यटकको आगमन घटेको भएपनि भारतीय पर्यटक बढेका छन्।
गत अगष्टमा देश भित्रबाटै लुम्बिनी भ्रमण गर्नेको संख्या २५ हजार ९७६ रहेको छ। अघिल्लो वर्ष सोही अवधिको तुलनामा झण्डै ७ हजारले बढि हो । सन २०२५ को अगष्टमा १८ हजार ८४१ जना आन्तरिक पर्यटक लुम्बिनी आएका थिए ।
कोभिड अघिको तुलनामा भने अहिले नेपाल भित्रबाटै लुम्बिनी घुम्न आउनेको संख्या ६ हजार जतिले कम छ। सन २०१९ को अगष्ट महिनामा ३२ हजार १५४ जना आन्तरिक पर्यटकले लुम्बिनीको भ्रमण गरेका थिए। कोभिडले खस्केको लुम्बिनीको पर्यटन अझै पुरानो लयमा फर्किन सकेको छैन। विचमा बुटवल नारायणगढ सडक विस्तारको क्रममा यात्रा गर्न असहज हुँदा लुम्बिनीमा पर्यटक आगमन कम्जोर बनेको थियो। पछिल्लो समयमा आन्तरिक पर्यटकको संख्या क्रमश बढिरहेको छ।

