
लुम्बिनी -पछिल्लो ९ महिनामा ७ लाख ९२ हजार १८८ जनाले बुद्ध जन्मस्थल लुम्बिनीको भ्रमण गरेका छन्। अघिल्लो वर्ष सोही अवधिको तुलनामा यो वर्ष ६.८३ प्रतिसतले लुम्बिनी आउनेहरु बढेका हुन् । सन २०२५ मा सेप्टेम्बरसम्म ७ लाख ४१ हजार ५७८ जनाले लुम्बिनी घुमेका थिए।
पछिल्लो ९ महिनामा आन्तरिक पर्यटकको संख्या ५ लाख ४७ हजार ८८१ रहेको छ। अघिल्लो वर्ष सोही अवधिको तुलनामा नेपाल भित्रबाटै लुम्बिनी घुम्न आउनेको संख्या १३.५१ प्रतिसतले बढेको हो। सन् २०२५ मा सेप्टेम्बर महिनासम्म ४ लाख ८२ हजार ६२६ जना आन्तरिक पर्यटक लुम्बिनी आएका थिए। कोभिड अघि सन २०१९ मा अहिले भन्दा साढे २ लाख बढि आन्तरिक पर्यटक लुम्बिनी आएका थिए । सो वर्ष सेप्टेम्बरसम्म ८ लाख १८ हजार ३३८ जना आन्तरिक पर्यटक आएका थिए।
२०२६ मा सेप्टेम्बरसम्म लुम्बिनी आउने भारतीय पर्यटकको संख्या १ लाख ९७ हजार ५८२ रहेको छ। अघिल्लो वर्ष सोही अवधिको तुलनामा ५.९८ प्रतिसतले दक्षिण छिमेकी मुलुकका पर्यटक बढेका हुन्। २०२५ को जनवरीदेखि सेप्टेम्बरसम्म १ लाख ८६ हजार ४४२ भारतीय पर्यटक लुम्बिनी आएका थिए। कोभिड अघि भारतीय पर्यटक अहिले भन्दा कम थिए। सन २०१९ मा सेप्टेम्बरसम्म १ लाख २७ हजार ९६ भारतीय आएका थिए ।
गत सेप्टेम्बर महिनासम्म लुम्बिनीमा ८५ हजार २४४ जना तेस्रो मुलुकका विदेशी पर्यटक आएका छन्।
गत वर्ष सोही अवधिको तुलनामा १७.५६ प्रतिसतले बढेका छन्। सन २०२५ को सेप्टेम्बर महिनासम्म ७२ हजार ५१० विदेशी आएका थिए। कोभिड अघिको तुलनामा लुम्बिनीमा पर्यटक घटेका छन्। सन् २०१९ को सेप्टेम्बरसम्म १ लाख ९ हजार ८९६ तेस्रो मुलुकका पर्यटक लुम्बिनी आएका थिए। अहिले २४ हजार कम देखिएको छ।
पछिल्लो ९ महिनामा आएका विदेशी पर्यटक मध्ये सबैभन्दा बढि श्रीलंकाबाट ३२ हजार ४२७ जना लुम्बिनी आएका छन्। त्यस्तै म्यानबारबाट १५ हजार ७२२, चिनबाट ८ हजार ६३८ जना र थाइल्याण्डबाट ८ हजार ४९५ जना आएका छन्। त्यस्तै गरि भियतनामबाट ३ हजार ८८५, दक्षिण कोरियाबाट २ हजार ४५८, भुटानबाट १ हजार ५०९, जर्मनीबाट १ हजार १०८ र ताइवानबाट १ हजार १०३ जनाले बुद्ध जन्मस्थल लुम्बिनीको भ्रमण गरेका छन्।
लुम्बिनीमा भारतीय पर्यटकहरुको आगमन राम्रो छ। तर आन्तरिक र तेस्रो मुलुकको पर्यटन अझै कोभिड अघिको लयमा पुगेको छैन। बर्षा र गर्मी यामको कारण जेठदेखि असोजसम्मको समय लुम्बिनीको लागि अफ सिजन हो । कात्तिकदेखि चैतसम्म लुम्बिनी घुम्ने राम्रो सिजन हो।

