२०८३ आश्विन ३ गते, शनिबार १६:०७
  • वृहत्तर लुम्बिनी अन्तर्राष्ट्रिय सम्मेलनमा सम्पदा संरक्षण, पर्यटन र दिगो विकासबारे छलफल


    लुम्बिनी-वृहत्तर लुम्बिनी सम्बन्धि अन्तर्राष्ट्रिय सम्मेलन शुक्रबारदेखी सुरु भएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, लुम्बिनी विकास कोष, युनेस्को र विश्व बैंकको संयुक्त आयोजनामा सम्मेलनमा बुद्धस्थलहरुसँग सम्बन्धि विभिन्न विषयमा छलफल भइरहेको छ।

    सम्मेलनको उद्घाटन गर्दै संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्री खडकराज पौडेल गनेसले लुम्बिनीको विश्वव्यापी प्रवर्द्धनलाई पनि सुदृढ बनाउनुपर्ने बताए। बुद्धजन्मस्थललाई केवल भ्रमण गर्ने गन्तव्यको रूपमा मात्र नभइ बुद्ध दर्शन ग्रहण गर्ने, शान्ति, ध्यान र सचेतनाको अभ्यास गर्ने आध्यात्मिक स्थलको रूपमा प्रस्तुत उनले उल्लेख गरे। मन्त्री पौडेलले विश्व बैंकको साझेदारीमा रहेको वृहत्तर लुम्बिनी क्षेत्र विकासको साझा दृष्टिकोणलाई व्यावहारिक कार्यमा रूपान्तरण गर्ने एउटा महत्वपूर्ण अवसर रहेको बताए। बौद्ध समुदाय र स्थानीय जनताको आकांक्षा अनुसार लुम्बिनीको विकास, र प्रवर्द्धन अघि बढ्नुपर्ने उनको भनाइ छ।

    लुम्बिनी प्रदेश सांसद सीके गुप्ताले बुद्ध जन्मस्थलको विकासमा प्रदेशलाई पनि समेट्नुपर्ने धारणा राखे। कार्यक्रममा पर्यटन मन्त्रालयका सचिव मुकुन्द प्रसाद निरौलाले लुम्बिनीको दिगो विकासमा अन्तर्राष्ट्रिय संस्थाहरुको भूमिका महत्वपूर्ण हुने उल्लेख गरे। लुम्बिनी विकास कोषका निमित्त सदस्य सचिव ज्ञानिन राइले बृहत्तर लुम्बिनी क्षेत्रको विकास र तिलौराकोटलाई विश्व सम्पदामा सूचीकृत गर्न सहयोग पुग्ने उद्देश्यले सम्मेलन गरिएको बताए। नेपालका लागि युनेस्को प्रतिनिधि जाको दु टोइट, विश्व बैंक प्रतिनिधि इलाड सेनफेल्डले लुम्बिनीको विकासमा आफूहरुले निरन्तर सहयोग गर्ने उल्लेख गरे।

    लुम्बिनी सांस्कृतिक नगरपालिकाकी कार्यवहाक मेयर कल्पना हरिजनले स्थानिय सरकारसँग मिलेर अघि बढ्न संघिय सरकारलाई आग्रह गरिन्। सम्मेलनमा उच्च पदस्थ सरकारी अधिकारी, बौद्ध धर्मगुरु तथा समुदाय, सम्पदाविद, पर्यटनविद, विकास साझेदार एवं स्थानिय प्रतिनिधिहरु लगायत २ सय बढिको सहभागीता थियो ।

    ३ दिनसम्म चल्ने छलफलपछि बृहत्तर लुम्बिनी क्षेत्रको रुपान्तरणका लागि सम्पदा संरक्षण, पर्यटक व्यवस्थापन, पर्यटन पूर्वाधार तथा सेवा सुदृढीकरण र समावेसी स्थानिय आर्थिक विकासमा केन्द्रीत रहेर साझा कार्यायोजना तयार गरिने छ।