२०८३ मंसिर ९ गते, मंगलवार १९:३९
  • भैरहवाको हवाइ रुट छिट्टै कार्यान्वयनमा आउला कि ‘प्राविधिक परामर्श’ले अल्झाउला ?

    भैरहवा-प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणको क्रममा काठमाडौं भैरहवा लखनौ हवाई मार्गलाई दुई तर्फी बनाउने सहमती जुटेको छ। ‘दुवै पक्ष विद्यमान एकतर्फी ’बी३४५’ काठमाडौं–भैरहवा–लखनऊ हवाई मार्गलाई दुई पक्षीय बनाउने विषयमा सहमत भएका छन्। यस सम्बन्धमा आवश्यक प्रक्रिया तथा कार्यविधिलाई अन्तिम रूप दिन र हाल छलफलमा रहेका दुवै पक्षका नागरिक उड्डयन सम्बन्धी अन्य प्रस्तावहरूलाई सम्बोधन गर्न प्राविधिक परामर्श गरिनेछ।’ भ्रमणका क्रममा जारी संयुक्त वक्तव्यमा भनिएको छ।

    बुँदामा उल्लेख भएको प्राविधिक परामर्शले भैरहवाको लागि तत्काल हवाइ रुट कार्यान्वयन भइहाल्ने अवस्था देखिँदैन। १० वर्ष अघि सन २०१६ मा प्रधानमन्त्री पुष्पकमल दाहाल भारत भ्रमणको क्रममा पश्चिमको महेन्द्रनगर रुटलाई दुई तर्फी बनाउन नेपाल भारत सहमत भएका थिए। दुबै पक्षले थप हवाइ मार्गको अनुरोध सहित हवाइ सेवा सम्बन्धि विषयहरुमा छलफल गर्न नागरिक उड्यन वार्ता गर्ने कुरामा सहमती जनाए। त्यस बेलाको संयुक्त बक्तव्यमा भनिएको छ। त्यो हवाइ रुटको कुरा त्यत्तीकै सेलाएको थियो।

    यो पटक पनि भैरहवाबाट पाउने भनेको नयाँ रुटको विषयमा अलमल हुने त होइन भन्ने संसय छ। बुँदामा काठमाडौं भैरहवा लखनौको रुटको सम्बन्धमा आवश्यक प्रक्रिया तथा कार्यविधिलाई अन्तिम रूप दिन प्राविधिक परामर्श गर्नुपर्ने भनिएको छ। साथै हाल छलफलमा रहेका दुवै पक्षका नागरिक उड्डयन सम्बन्धी अन्य प्रस्तावहरूलाई सम्बोधन गर्न प्राविधिक परामर्श गरिने बुँदामा उल्लेख छ।

    नेपालले मागेको महेन्द्रनगर रुट र भारतले मागेको बाग्डोरा एयरपोर्ट र रक्सौल एयरर्पोट बारे पनि प्राविधिक परामर्श गरिने भनिएको छ। प्राविधिक परामर्श भनेको नागरिक उड्यन तहमा हुने छलफल हो। उल्लेखित बुँदाले सहमती भएको भनिए पनि रुटको विषय नटुंगीएको बुझ्न सकिन्छ। प्राविधिक परामर्शको क्रममा भैरहवा लखनौ रुटको बारेमा छुट्टै छलफल भएर निष्कर्षमा पुगेमा भने नयाँ रुट छिट्टै कार्यान्वयनमा आउन सक्छ। भारतले फेरि बाग्डोरा र रक्सौलको कुरा निकालेर बखेडा गर्यो भने रुटको विषय अल्झिन पनि सक्छ।